संवैधानिक समिति


संविधान निर्माण तथा सोसँग सम्वद्ध कार्यलाई प्रभावकारी एवं व्यवस्थित नाउनका लागि संविधानसभा अन्तर्गत संवैधानिक समिति, विभिन्न विषयगत समितिहरू तथा प्रक्रियागत समितिहरू गठन गर्न सकिने व्यवस्था संविधानसभा नियमावली, २०६५ को परिच्छेद ११, नियम ६४ ले गरेको छ । सोही नियमावलीका नियम ६५ ले गरेको व्यवस्था अनुसार संविधानसभामा एक संवैधानिक समिति गठन गरिएको छ । संविधानसभा नियमावलीको नियम ६५ को उपनियम (४) ले गरेको व्यवस्था अनुसार संवैधानिक समितिमा ६३ जना सदस्य रहने र यसरी संवैधानिक समितिको गठन गर्दा सबै राजनीतिक दलहरूको सहभागिता हुने गरी समावेशी चरित्रको गठन गर्नु पर्ने व्यवस्था रहेको छ । समितिका सदस्यहरूले आफु मध्येबा एक जना सभापतिको निवार्चन गर्न सक्छ । हाल समितिका सभापति मा.नीलाम्वर आचार्य हुनुहुन्छ । संवैधानिक समितिको कार्यकाल संविधानसभाको अवधिभर रहने तथा नियमावलीले व्यवस्था गरेदेखि बाहेक समितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्न सक्ने व्यवस्था रहेको छ । संविधानसभा नियमावली, २०६५ को नियम ६५ को उपनियम (२) र (३) ले समितिको कर्तव्य र जिम्मेवारी यस प्रकार निर्धारण गरेका छन् ।

 

·        संविधानसभा अर्न्तर्गत गठन भएका विषयगत समितिहरूले आफ्नो कार्यक्षेत्रभित्र परेका विषयहरूमा अवधारणापत्र र प्रारम्भिक मस्यौदा सहितको प्रतिवेदन पेश गरिसकेपछि ती प्रतिवेदनहरू एवं त्यस उपर संविधानसभामा छलफल भई सभाले दिएको सुझाव र निर्देशन समेतका आधारमा संविधानको मस्यौदा तयार पारी संविधानसभामा पेश गर्ने, र

·        संविधानको प्रस्तावना र कुनै पनि विषयगत समितिहरूको क्षेत्राधिकार भित्र नपरेका तर संविधानमा समावेश गर्नुपर्ने विषयको पहिचान गरी त्यसको अवधारणापत्र सहितको प्रारम्भिक मस्यौदा तयार पारी सभामा पेश गर्ने।



मस्यौदा तथा अवधारणापत्रहरु(3)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(63)