नागरिक सम्वन्ध समिति
संविधान निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने महत्वपूर्ण प्रशासनिक र प्रक्रियागत कार्यमा सहयोग पुर्याउनका लागि संविधानसभा नियमावली, २०६५ को नियम ६७ (१) ले संविधान सभा अन्तर्गत नागरिक सम्वन्ध समिति गठनको व्यवस्था गरेको छ। सोही व्यवस्था वमोजिम मिति २०६५।८।३० गते छत्तिस सदस्यीय नागरिक सम्वन्ध समितिको गठन गरिएको थियो भने उक्त समिति २०६५।९।२६ र २०६५।१०।६ गते पुनर्गठन भएको थियो। समितिको सभापतिमा मा० श्री मिना पाण्डे हुनुहुन्छ। संविधान निर्माण प्रकृयाका सम्वन्धमा आम नागरिकहरुसँग सम्वन्ध स्थापित गरी संविधान सभाको गतिविधि र आम नागरिकसँग सुसम्वन्ध स्थापना गर्नु समितिको मुख्य उद्देश्य हो। समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा गर्ने कामको सूची तथा सो कार्य सम्पन्न गर्न कार्यतालिका तयार गरी अध्ययन सामग्री संकलन, अध्ययन तथा छलफल गर्ने तथा त्यसका लागि आवश्यक उपसमिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने, आफ्नो काम तोकिएको समय भित्र पूरा गरी त्यसको प्रतिवेदन सभामा पेश गर्ने तथा सभाले सुम्पेको अन्य कार्य गर्नसक्ने व्यवस्था छ। समितिले आफ्नो कर्तव्यहरु संविधान निर्माणका क्रममा विभिन्न चरणहरुमा पूरा गर्नुपर्ने भएकोले समितिका कार्यक्षेत्र भित्र परेका कतिपय कार्यहरु सम्पन्न भैसकेका छन् भने कतिपय पूरा गर्न वाँकी रहेका छन्। मूलतः संविधान सभा नियमावली, २०६५ को नियम ६७ (१) ले नागरिक सम्वन्ध समितिलाई देहाय वमोजिमका जिम्मेवारी तोकेको छ :
-
संविधान सभामा आम नागरिकको सहज पहुँचको संयन्त्र निर्माण र सो को कार्यान्वयन गर्ने,
-
संविधान सभा, संविधान निर्माण प्रकृया र यसको नियमित क्रियाकलाप बारे प्रभावकारी सूचना सम्प्रेषणको व्यवस्था र अन्य सहयोगीहरुसँग समन्वय गर्ने,
-
संविधान सभा, संविधान निर्माण प्रकृया र यसको नियमित क्रियाकलाप बारे सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्रसरकारी संघ संस्था, नागरिक समाज र सञ्चार माध्यमबाट सञ्चालित सम्पूर्ण गतिविधिहरुको अनुगमन र मूल्यांकन गर्ने,
-
नागरिकलाई संविधान निर्माणमा सहभागी हुने प्रकृया बारे जानकारी गराउने,
- मिडिया सेन्टरको अनुगमन गर्ने।
प्रकाशनहरू(1)
समितीमा रहनु भएक संविधानसभाका सदस्यहरु(37)
